किताब
– विक्रम सुब्बा
लेखिँदैछ अब एउटा नयाँ किताब
मानिसहरू भन्दैछन् –
किताबको कुनै पनि अध्यायमा
राजाका जुँगावाला टोपीले शिर उठाउँने छैन
रानीका कुटील मुस्कान कतै पोतिने छैन
युवराजका कामुक ठट्टाहरूको विवरण लेखिने छैन
युवराज्ञीको शिरमा दैवी शक्तीको ताज पहिर्यानइने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि खण्डमा
पार्टीका अड्डाहरू
भाडाका टाँगन घोडा बाँध्ने अस्तवल हुने छैन
मन्त्रालयका नयाँ कुर्सीमा
पुरानो छाँयाले जागिर खाने छैन
व्यापारीको बगैँचाका हाँगाहरूमा
बेभिचारका सन्तानजस्तो फल फल्ने छैन
कतैबाट संचालित कुनै सिल्लीहरूले
संसदको माइकबाट विष फुक्ने छैन
गाउँ-घर-टोलको सुरक्षाको निम्ती
कुनै बन्दुकेको राइफल भर्ति हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि दफामा
महिलाका उज्याला आँखा थुन्ने आँशु हुने छैन
रैथाने मानिसको किपटका पर्खालबाट ढुंगाहरू थुतेर
पुराण वाचन गर्नेको आशन निर्माण हुने छैन
स्वदेश गानका ढुकढुकी चल्दा
दलितका छातीको धुनलाई विरहको पहिरोले तान्ने छैन
मधेसका निकुञ्जहरूबाट निस्किरहेका सुगंधहरूलाई कसैले
देसद्रोही कुर्ता र अनागरिक सुरुवाल पहिर्यााउँने छैन
कर्णालीको नौरंगे डाँफेलाई फसाउँने इन्द्रजाल हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि हरफमा
लिम्बुवानको कञ्चनजंघामा स्वतन्त्र डुल्ने
ध्वाँसे-थ्याप्चे चितुवालाई धराप थापिने छैन
खम्बुवान-अरुणको हाक्पारालाई फसाउँने ढोडिया हुने छैन
तमुवान र मगरातलाई धसाउँने पाताले छाँगो हुने छैन
थरुहट र तामाङसालिङको निधारमा कालो वादल हुने छैन
झुप्राका छानाहरू जगल्ट्याउँने वतासको तुफान हुने छैन
खलंगातिर झरिरहेको बहुमुल्य जडीबुटी
कथाको केवल असहाय घाइते पात्र हुने छैन
तराइका अन्न सिरिफ चण्डालका लोकगीतको गेडा हुने छैन
के के होला त त्यो किताबमा ?
किताबको कुनै पनि अनुसूचिमा
मानिसका मुटु-कलेजो भेदन गर्ने सुइरो हुने छैन
छोरी-बुहारीको अस्मितालाई मुडाझैँ चिर्ने खञ्जहर हुने छेन
किसानको खेतले विधवा बस्ने मौसम आउँने छैन
मजदुरका हातहरू तुरुङ ठोक्ने शान्ति हुने छैन
विद्यार्थीका पठनपाठन रोक्ने घडि घुम्ने छैन
गायकले गीत गाउँदा कुनै हुकुमी ताल बज्ने छैन
कविहरूका अराजक उडानलाई बाँध्ने संहिता हुने छैन
स्वर्गजस्तो यो मेरो मुलुकमा
राक्षस उत्पादन गर्ने कारखाना हुने छैन
अब तिमी नै भन,
के के होला त त्यो किताबमा ?
December 3, 2008 at 7:42 pm
bikram ji poem ekdum ramro stariya ani samaya saaapechik lagyo…hope aba aaune din haru hamro desh ma uyastai nai aasaha baadi huna laayak ko hunecha…
December 3, 2008 at 8:20 pm
kip it up